आजको राशिफल, वि.सं. २०७९ साल वैशाख १५ गते बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ वैशाख १५ गते बिहीवार तदनुसार ई. सं. २०२२ अप्रिल २८ तारिख, नल नामक संवत्सर, शाके :– १९४४, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चौलागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ ०६:२६ बजे, चन्द्रास्त : दिउँसो ०३:५८ बजे र चन्द्रोदय : भोलि बिहान ०३:०० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय :

बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०६:३५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०६:४१ बजे, वैशाख कृष्णपक्षको त्रयोदशी तिथि, मध्यरात्रीपछि ०१:०६ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, उत्तराभाद्रा नक्षत्र, साँझ ०६:३८ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), वैधृति योग, साँझ ०५:३५ बजेसम्म, त्यसपछि विष्कुम्भ योग, सुरुमा गर करण दिउँसो ०१:१६ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि ०१:०६ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, आनन्दादि योग :

छत्र, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : दक्षिण, वारशूल : दक्षिण, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये चोर वाण : बेलुका ०७:५२ पछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आज : श्री गुरु प्रदोष व्रत, आजको मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन(पास्नी), पसल थाप्ने (दोकान खोल्ने), शिलान्यास (सामान्य), गृहप्रवेश, डेरा सर्ने/बसाइँ सर्ने, द्वारचक्र (दैलो राख्ने), कलशचक्र

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १६ गते : मातातिचह्रे पूजा (नेवारले मनाउने पर्व), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), द्वारचक्र (दैलो राख्ने), कलशचक्र, १७ गते : आमाको मुख हेर्ने दिन, मातातीर्थ औंसी, मातातीर्थ स्नान, दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन, चांगुनारायण, छिन्नमस्ता, कीलेश्वर मूल रथयात्रा, १८ गते : विश्व मजदूर दिवस, ललितपुरमा मत्स्येन्द्रनाथ रथारोहण (बुंगद्य रथय तइगु), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । आर्थिक पाटो हो भने सानातिना खर्चको पनि हेक्का राख्नु होला, नत्र हिसाब नमिल्नाले तनाव बढ्नेछ । एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ ।

आजको भाग्यबल ४० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : छिरबिरे/रङ्गीबिरङ्गी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । नयाँ ठाउँको यात्रा वा नयाँ मित्रको सङ्गतबाट आनन्द लिने समय हो । प्रतिष्ठित व्यक्तिलाई मित्र बनाउन पाउँदा दङ्ग पर्न सक्नुहुन्छ ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बगलामुखीदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ । पठनपाठनका अतिरिक्त क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ । अध्ययन/अध्यापनमा पनि मिहिनेतअनुसार उपलब्धी पाउन सकिने छ । 

आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वास्तुदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कुनै ठूलै योजना कार्यान्वयनको तैयारी हुनेछ, दिनदु:खी र बृद्धबृद्धाको सहयोग गर्दा भाग्य बढ्ने समय छ, त्यसैले कुनै पनि धार्मिक/पारम्परिक क्रियाकलापमा सहभागी भएको जाती हुन्छ । कामको चापबाट फुर्सद पाइने राम्रै दिन छ, विभिन्न सहयोग र उपहार पनि प्राप्त हुनेछन्, तर गलत काम र दुर्जन व्यक्तिको विश्वासमा पर्दा इज्जतमा दाग लाग्ने दिन हो । पारिवारिक वा सामाजिक काममा व्यस्त रहँदा बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ ।

आजको भाग्यबल ७५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गुरवे नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लेनदेनको कारोबारमा सतर्कता अपनाएको राम्रो हुन्छ । गिन्ती बिग्रिएर घाटा पर्नसक्छ । साथीभाइ र सहयोगीहरूले पनि फरक व्यवहार देखाउने दिन हो । दिगो स्रोत जुटाउने समय हो, चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ । कामको चाप र दायित्व बढ्दै जाँदा शरीरमा कमजोरी देखिन सक्छ, व्यवहारिक जिम्मेबारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यको पनि ख्याल राख्ने समय हो ।

आजको भाग्यबल ०५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वायुपुत्राय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मौजमस्ती र आनन्दका लागि समय प्रदान गर्ने दिन हो, तथापि तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, याद गर्नुहोला, आज अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन हो ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

महत्त्वपूर्ण काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने कोसिस गर्नुहोला । शत्रु वरिपरि नै छन् भन्ने बुझेर कार्य सम्पादन गर्ने दिन हो । भेटघाट र मिलनको समय छ, तर बेकारका कुराकानी र ख्यालठट्टाले दूरी बढ्नसक्छ, होस राख्नुहोला । शरीर हलुका र मन चङ्गा भएको दिन हो । नियमित कामधन्दा र दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभूति हुनेछ । प्रयास गरेमा चलिरहेको आर्थिक समस्याको हल हुनसक्ने समय छ ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

छोराछोरीको क्रियाकलाप र उन्नति/प्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन हो । परिवारजनको सहमति जुट्नाले चिताएको काम सम्पन्न गर्न सकिने छ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने प्रयास गर्नोस्, सफलताको जडी सूत्र पत्ता लाग्ने दिन हो । कडा परिश्रम जारी राख्दा कुनै महत्त्वपूर्ण उपलब्धीको बाटो खुल्ने समय छ, यतिवेला आफूलाई उर्जाले भरिएको महसुस गर्नुहुनेछ । अहिले आफ्नो क्षमता र सामर्थ्यले अरुलाई प्रभावित बनाउन सकिने छ ।

आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ग्रां ग्रीं ग्रौं स: गुरवे नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, त्यसै घोरिएर बस्नुभन्दा अभिभावकलाई स्पष्टसँग कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा समेत चिन्तन गर्ने समय छ । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर चल्नु ठीक हुन्छ । मन फुरुङ्ग हुने समय हो, तर सहयोगीको साथ पाइँदैन, जे गरे पनि आफैं अघि सरेको जाती हुन्छ । कुनै काम सम्पन्न गर्न दोहोर्याई/तेहेर्याई गर्नुपर्ने परिस्थिति बन्नेछ ।

आजको भाग्यबल ५५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नम: भद्रकाल्यै न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सहपाठी र सहकर्मीका बीचमा गपसप गर्ने र समययापन गर्ने मौका मिल्नेछ, लवलाइफमा समेत एकआपसका सुखदु:ख एवं चाहना बुझी कार्य गर्ने प्रयत्न हुनेछ । कार्यक्षेत्रमा उत्साहवर्द्धक परिणाम प्राप्त हुनेछ । नवीन रोजगारी वा नयाँ कारोबारप्रति आकर्षण देखिन्छ, चिताएको काम पूरा हुने दिन हो । कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धरणीसुताय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सकेसम्म उचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । नयाँ र नौलो विषयमा चासो नदेखाउनु होला, कतै धन लगानी गर्न पनि ठीक समय छैन, कतिपय अवस्थामा दैनिकी सञ्चालनका क्रममा समेत चुनौती र बाधा झेल्ने दिन हो । मौसमी रोगव्याधिको भय छ, तर धनबृद्धिका लागि गरिएका प्रयासहरू सफल हुनेछन् । नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ ।

आजको भाग्यबल ७५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, हिजोअस्तिका तुलनामा केही न केही धनार्जनको अवसर मिल्नसक्छ । लामो समयदेखि बनाउन नसकेको काम बनाउन सकिने समय हो । मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै बढ्नसक्छ ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ केशवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

Post a Comment

Previous Post Next Post