देशको सेवा गर्न गएको छोराको लाश मात्र घर फर्किए पछि....

देशको सेवा गर्न गएको छोराको लाश मात्र घर फर्कियो !श्रीभवानी दलगण तेघरी ब्यारेक अत्तरियामा दरबन्दी भइ हाल विशेष कार्यरथी विभाग जंगी अड्डा काठमाडौंमा कार्यरत नेपाली सेनाका २६ वर्षीय

जवान विष्णु रणपालको शव मंसिर ४ गते बबई नदीको नहरमा भेटियो । बर्दियाको बारबर्दिया नगरपालिका ३ खुरखुरे निवासी रणपालले मंसिर ५ गते हाजिर हुनेगरी कार्तिक २१ गते अड्डाबाट विदा स्वीकृति लिएका थिए । दैवको लिला मंसिर ३ गते स्थानीय बबई नहर साइफनमा वनभोज खान गएका जवानको अर्को दिन नहर नजिकै शव फेला पर्यो ।

पुत्र वियोगमा शोकाकुल बनेका विष्णुका आमाबुवाका आँखामा आँशुका भेल अझै थामिएका छैनन् । घटनाले परिवारलाई मात्र होइन स्थानीय सबैलाई त्रसित र स्तब्ध बनाएको छ।

खुरखुरेस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका मृतक रणपालका ५२ वर्षीय बावु धनबहादुर दमाई र ४८ वर्षीया आमा खगीसरा दमाईका आँखा ओभाएका छैनन् । सम्पत्तीको नाममा ९ जना परिवारको एकमात्र सहाराले मृत्यु भएपछि सुकुम्वासी दमाई परिवारका विचल्लीका दिन सुरु भएका छन् । मृतकको श्रीमतीसँग अदालतमा डिभोर्सको प्रक्रिया चलिरहेको बताइएको छ ।

मेरो बाबालाई के कष्ट पर्यो । तिमी सबैसँग मिलेर बस्नुपर्छ भन्थ्यौं । मेरो राजा, मेरो सानु, मेरो मायाँलु । उठ न बावु । के गर्नु पर्यो । गहभरी आँसुका भेल बगाउँदै मृतककी आमा खगिसराले भनिन् ,’ मेरो छोराको हत्या भएको छ । मेरो कोख चुँडाएर लैजाने पापीलाई जसरी पनि कडा भन्दा कडा कारवाही होस् । अब मेरो छोरा फर्किएर आउँदैन तर अपराधीलाई हदैसम्मको कारवाही हुनुपर्छ ।

परिवार गुमाउनुको पीडा कसैलाई सह्यै हुँदैन । वनभोज खान गएका जागिरे छोराको मृत्युले दलित दमाई परिवारको खुशी चुडीदिएको छ ।घटना घटाएर छोरालाई मारिएको छ । अनुसन्धानमा ढिलासुस्ती नहोस् ।

मृतकका बावु धनबहादुर परियारले भने,’ राजनीतिक तथा पैसाको चलखेलबाट घटनालाई कमजोर नबनाइ निश्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारवाही भए मात्र छोराको आत्माले शान्ति पाउँछ ।’अपराधीलाई कडा कारवाहीको मागसहित दबाब दिन दमाई परिवारलगायत खुरखुरेका स्थानीयले सदरमुकाम गुलरियामा पत्रकार सम्मेलन समेत गरेका छन् ।

प्रत्यक्षदर्शीको भनाइ:नेपाली सेनामा कार्यरत जवान विष्णु रणपालको हत्या भएको आरोप परिवारको छ । मंसिर ३ गते वनभोज खान बबई नहरको साइफन पुगेका उनीहरु साथीभाइहरुसँग पिकनिकमा रमाउँदै थिए ।

उनीहरुको नजिकै अर्को समूह पनि वनभोजमा नाँचगान गर्दै थियो । विष्णुका साथी प्रत्यक्षदर्शी एकैगाउँ निवासी लालबहादुर विक खाना खाँदै थिए । उभिरहेका विष्णुको खुट्टा छोइने गरी मोटरसाइकलमा सवार दुईजना युवाहरु अगाडि गए । उनीहरु फेरि मोटरसाइकल फर्काएर विष्णु नजिकै पुगी विष्णुलाई प्याट्ट हिर्काए ।

लालबहादुरले घटना सुनाउँदै भने विष्णुलाई प्याट्ट हानेर केटाहरु गएपछि को रहेछन् भनेर विष्णु अलि अगाडी गए। अनि युवाहरुको समूहले मरणासन्न हुने गरी कुटपिट गरी भागे । विष्णुले मलाई बचाउ लालबहादुर भनेपछि म नजिकै गए । जोगाउन खोज्दा मलाई पनि चोट लाग्यो ।

मेरो हात भाँचिएको छ । प्लाष्टर गरेको हात देखाउँदै लालबहादुरले थपे झगडाको जड मलाई केही थाहा भएन ।पिटेर केटाहरु भागेपछि विष्णुलाई बोकेर ट्याक्टरको ट्रलीमा राखे । ती केटाहरु फेरि खोज्दै आएपछि विष्णुलाई देखे । ट्रलीबाट झिकेर अलि पर बबईको साइफन नजिक लगेर दाउराको कप्टेरोले पिटेर मारे अनि साइफनको भित्र फालेर भागे ।

समूहका केटाहरु को हुन् मैले चिनेन् । मोटा अनि बलिया थिए । मैले एक्लैले ठिक पार्न सक्ने अवस्था थिएन । बरु चोट लागेर मेरै हात भाँचियो ।घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान भइरहेकोले हत्या पुष्टि भए कुनैपनि अपराधी उम्किन नपाउने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

शव भेटिएको बबई नहरको साइफन स्थलमा मृतकले लगाएको घडी र शव जालीमा अल्झिएको अवस्थामा पाइएको हो। घटनास्थल प्रकृति मुचुल्कालगायत पोष्टमार्फम रिपोर्टबाट थप अनुसन्धान खुल्ने उनले प्रष्टाए ।

सेनाका जवानको मृत्युको घटना फौज्दारी मुद्धा अन्र्तगत छानविन हुँदैछ । मृतकका परिवारले किटानी जाहेरी दिएका छन् । कुनै कसर बाँकी नराखेर त्रुटी र विभेद रहित अनुसन्धान गर्छौं,’ निर्देशन दिइसकेको छु प्रजिअ अधिकारीले भने ।’मृतक विष्णु रणपाल सरल स्वभाव र मिलनसार भएको स्थानीय अविरल विश्वकर्माले भने । दलित समुदायको परिवारमा भएको घटनाप्रति नगरस्तरिय दलित संजाल बारबर्दियाको ध्यानाकर्षण भएको छ ।

Post a Comment

Previous Post Next Post