धनगढीः गत सोमबार धनगढीमा एक युवकको शव फेला पर्यो। उपमहानगरपालिकाको वडा नम्बर ५ जाई र शिवनगर जोड्ने सडक छेउको नालीमा युवकको शव फेला परेको थियो।
त्यो शव थियो भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय कुलदीप गुप्ताको। बाटो हिँड्ने एक युवतीले सोमबार बिहान पौने १० बजेतिर युवकको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।प्रहरीले गुप्ताको ह त्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान सुरु गर्यो। भारतीय नागरिकको शव फेला परेको ५ दिनमा जिल्ला प्रहरी कार्यालयले कैलालीले युवकको ह त्यामा संलग्न दुई आरोपितलाई सार्वजनिक गरेको छ।
शुक्रबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई सार्वजनिक गरिएको हो।
को हुन् कुलदीप गुप्ता ?**
भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय कुलदीप विगत लामो समयदेखि धनगढीमा बस्दै आएका थिए। उपमहानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाम नजिक उनी डेरा गरी बस्दै आएका थिए।
उनले धनगढीमा सामान्य कामसमेत गर्दै आएका थिए। गुप्ता विगत ८ महिना अगाडि आफ्नो परिवारसहित भारत गएका थिए। त्यसपछि उनी फागुन २१ गते विहान मात्रै धनगढीमा देखिएको प्रहरी अनुसन्धानले देखाएको छ। त्यसपछि उनी धनगढीमै काम खोज्न थालेका थिए।
प्रहरीका अनुसार उनले २२ गते नै आइसक्रिम बेच्ने काम पाएको देखिएको छ। उपमहानगरपालिकाको वडा नम्बर १ मा गोपाल मिश्राले सञ्चालन गरेको मिल्की फन आइसक्रिममा उनले काम गर्न सुरु गरेको देखिएको छ।