सर्लाही झडप : जसपा प्रमुख सचेतक साह घाइते, हेलिकप्टरबाट काठमाडौं लगिँदै

क्लवको भवन बनाउने बिषयमा झडप हुँदा संघीय सांसद प्रमोद साहको टाउकोमा गहिरो चोट लागेको छ । शनिवार इश्वरपुर नगरपालिका-६, बयलवास बजारमा क्लवको भवन निर्माण गर्न दिने र नदिने समुहबीच विवाद हुँदा झडप भएको हो ।

झडपको क्रममा दुईपक्षका स्थानियबीच ढुंगा हानाहान भएको थियो । सोही क्रममा ढुंगाले लागेर सर्लाही क्षेत्र नम्बर-१, का संघीय सांसद साह घाइते भएका हुन् ।घाइते सांसद साहको वयलवास स्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेर गम्भीर घाइते साहलाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकप्टर मगाइएको छ ।

वयलवासमा रहेको फुलजोर बाबा युवा क्लवको जग्गा र भवन निर्माणको विषयमा केही दिन यता स्थानीय युवाहरूबीच विवाद बढ्दै गएको थियो । ५ दशक पहिले स्थापना भएको उक्त क्लवको भवन सडक बिस्तारका क्रममा केही भाग भत्किएको मौकामा भवन बनाउन नदिने प्रपन्च बनेको स्थानीय युवाहरूको आरोप छ ।

विवाद उत्कर्षमा पुगेको अवस्थामा सांसद साह बिहान घटनास्थल पुगे लगत्तै झडप भएको ईलाका प्रहरी कार्यालय केश्वरगंजले जनाएको छ। सडक छुट्टाएर बाँकी जग्गामा एक पक्षले क्लवको भवन बनाउन खोजेका थिए भने क्लव घरसगैँका छिमेकी लगाएत अर्का पक्षले यहि अवसरमा क्लवको भवन निर्माणमा अवरोध गर्दै आएका थिए । यसै विषयलाई लिएर दुइ पक्षबीच विवाद हुँदा झडप भएको हो।

Post a Comment

Previous Post Next Post