छात्रा माथि शिक्षकले गरे कर’णीको प्रयास – विद्यार्थीले गरे आगजनी र तोडफोड..

मोरङको लेटाङ नगरपालिका–५ शिक्षा विकास माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विद्यालयमा आगजनी र तोडफोड गरेका छन् । कक्षा ७ मा अध्ययनरत एक बालिकामाथि करणीको

प्रयास गरेको भन्दै आइतबार विद्यार्थीहरूले विद्यालयमा आगजनी र तोडफोड गरेका हुन् ।१३ वर्षीया छात्रालाई सोही विद्यालयका शिक्षकले जबरजस्ती प्रयास गरेपछि विद्यार्थी उत्तेजित भएका हुन् । स्थानीयले शुक्रबार ५६ वर्षीय शिक्षक मनोज पौडेलले बालिकाको घरमै गएर करणी प्रयास गरेको उनीहरूको आरोप छ ।

घरमा कोही नभएको मौकामा पुगेका शिक्षक पौडेलले जवरजस्ती प्रयास गर्दा किशोरी चिच्याएपछि उनी त्यहाँबाट भागेको स्थानीयले बताएका छन् । लेटाङ –३ घर भएका शिक्षक पौडेल सोही विद्यालयका निमावि तहका सामाजिक शिक्षक हुन् ।

यसअघिसमेत पौडेललाई अभिभावक र विद्यालय प्रशासनले यस्ता घटना नगर्न चेतावनी दिएका थिए । तर शिक्षक पौडेलमाथि पटकपटक आरोप लाग्दासमेत कारबाही नभएको भन्दै आइतबार विद्यार्थीले आक्रोश व्यक्त गरेका हुन् ।

पीडित बालिकाका अभिभावकले आइतबार विद्यालय प्रशासनमा कुरा राखेपछि विद्यार्थी आक्रोशित भएका हुन् । आक्रोशित विद्यार्थीले शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । विद्यार्थीले विद्यालय परिसरमा आक्रोश व्यक्त गरेपछि आरोपित शिक्षकलाई प्रहरीको सुरक्षा घेरामा राखिएको थियो ।

विद्यार्थी आक्रोशित भएपछि प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा हालेर शिक्षकलाई उद्धार गरेको थियो । आरोपित शिक्षकलाई उद्धार गर्न एम्बुलेन्स ल्याएको भन्दै विद्यार्थीले एम्बुलेन्समा समेत ढुङ्गामुढा गरेका छन् ।

विद्यार्थीको भिड नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो । विद्यार्थीसँगको झडपमा परेर प्रहरी जवान रेणु यादव घाइते भएका छन् । प्रदर्शनका क्रममा घाइते भएका चार विद्यार्थीलाई अस्पताल पठाइएको छ । विद्यालयका प्रधानाध्यापक भने घटनापछि सम्पर्कबिहीन भएका छन् ।

यता, मोरङ प्रहरी प्रवक्ता मञ्जील मुकारुङले भने शिक्षकले करणीको प्रयास गरेको विद्यार्थी र स्थानीयको आरोपपछि अनुसन्धान थालिएको जनाएका छन् । ‘करणीको आरोप भन्ने कुरा आएको छ । यसबारे अनुसन्धान थालेका छौँ,’ उनले केटिएम दैनिकसँग भने ।

Post a Comment

Previous Post Next Post