मोरङको केराबारीमा हराइरहेका एक जना युवकको शव चारकोसे जंगलमा भेटिएको छ। केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको शव सडेर दुर्गन्धित भएको अवस्थामा ढलेको रुखको जराभित्र फेला परेको हो।
प्रहरीका अनुसार खोर्साने-केराबारी सडक खण्डको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झन्डै २ किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोसे जंगलमा ढलेको रुखको जराभित्र शव भेटिएपछि भट्टराईको हत्या भएको आशंका गरेका छन्।
उनका अनुसार शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको छ।गाईवस्तु चराउन गएका केराबारी–८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा आइतबार दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अनुहार पनि नचिनिने गरी सडेको शवको आफन्त र परिवारका सदस्यमार्फत पहिचान भएको प्रहरीले जनाएको छ।
टनाको अनुसन्धान अघि बढाएको प्रहरीले पोस्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै भट्टराईको हत्या भएको हो कि होइन भनेर यकिन हुने जनाएको छ । लामो समयदेखि बेपत्ता युवकको खोजीमा प्रहरीले चासो नदिएको र पटकपटक गुनासो गर्दा पनि सुनुवाइ नगरेको भन्दै स्थानीयले शव उठाउन केहीबेर अवरोधसमेत गरेका थिए ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएर चाँडै सत्यतथ्य पत्ता लगाउने प्रतिबद्धता जनाएपछि स्थानीयले शव उठाउन दिएका हुन् । प्रहरीले स्थानीय जनप्रतिनिधिको रहोबरमा घटनास्थलबाट शव उठाएर पोस्टमार्टमका लागि धरान लगेको हो ।