तिहार मानेर फर्केका यात्रुहरु चढेको बस दुर्घटनाग्रस्त, दश महिला र दुई पुरुषको मृत्यु


तिहार मानेर फर्कंदै गरेको यात्रु हरु चढेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परेर मृत्यु भएका १२ जनामध्ये १० जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोबिन्द थापाले दश महिला र दुई पुरुषको बस दुर्घटनामा परेर मृत्यु भएको बताए। दुई बालबालिकासहित थप दुई मृतकको सनाखत हुन बाँकी छ।

दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ८ की ३५ वर्षीया सावित्रा केसी र शान्तिनगर ६ कोरबाङका ५ वर्षीय सुरज वलीको मृत्यु भएको छ।

यस्तै सल्यानको शारदा नगरपालिका वडा नम्बर २ की ६१ वर्षीया मीना डाँगी, शारदा ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका वडा नम्बर १ काभ्राकी २४ वर्षीया मीना शाही र क्षत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वलीको मृत्यु भएको छ।

त्यस्तै सल्यान शारदा नगरपालिका वडा नम्बर १२ घर घई हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ५३ वर्षीया पर्भा चलाउने, दाङको बबई गाउँपालिका वडा नम्बर ४ की ६० वर्षीया डुली रेउले, बबई ६ पञ्कुलेकी ७० वर्षीया कलाबती बुढाथोकी, घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारीको दुर्घटनामा परेर मृत्यु भएको छ।

सात जना घाइतेलाई थप उपचारको लागि बाँके जिल्लाका अस्पतालहरुमा रिफर गरिएको छ। केही घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ। त्यस्तै थप ७ जना घाइतेको सल्यानमै उपचार जारी रहेको छ। बसमा ३० यात्रु सवार रहेका थिए। चालक अहिलेसम्म सम्पर्कविहीन छन्।

सडकको खराब अवस्था र तीब्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान प्रहरीको छ। सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान पौने ११ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ५ खारखोला नजिकै दुर्घटनामा परेको थियो।

Post a Comment

Previous Post Next Post