हामीलाई कसैले काउकुती लगाइदियो भने एक्कासी हाँसो लाग्छ । कसैले त कोही रिसायो भने काउकुती लगाएर फकाउने प्रयास पनि गर्छन् । कसैलाई भने काउकुती लगाएको मन पर्दैन । कोही काउकुती लगाउँदा रिसाउने पनि गर्छन् ।
काउकुती दुई प्रकारका हुन्छन् भन्ने गरिन्छ । एउटा हल्का किसिमको दबाब दिएर लगाइने काउकुती । अर्को, केही कडा किसिमले दबाब दिएर लगाउने काउकुती ।
आखिर काउकुती किन लाग्छ त ?
वैज्ञानिकका अनुसार मानिसको छालामा स्पर्श हुँदा छालामा रहेका स्नायु टुप्पोले हाम्रो मष्तिष्कमा विद्युतीय सन्देश पठाउँछन् । काउकुती लगाउँदा हामीलाई किन हाँसो लाग्छ भने, स्नायुले पठाएको तरंग एकैपटक दुई भागमा पुग्छ– एउटा स्पर्शको विश्लेषण गर्ने भागमा र अर्को आनन्दको सञ्चार गर्ने भागमा ।
तर, धेरै बेर काउकुती लगायो भने यसले हाँसो मात्र दिँदैन । काउकुती लगाउँदा मस्तिष्कको त्यो भागलाई पनि सक्रिय पार्छ जसले हामीलाई आत्तिएको महसुस गराउँछ ।
वैज्ञानिकहरूले काउकुती लाग्दा हाँस्नु भनेको मानिसको आदिम प्रतिरक्षा प्रणाली सक्रिय भएको हुन सक्ने बताउँछन् । जसले गर्दा अरुले काउकुती लगाउँदा हामी झुकेको वा परास्त भएको संकेत दिएको बुझ्न सकिन्छ ।
तर, आफैले आफूलाई काउकुती लगाउँदा भने हाँसो लाग्दैन । आखिर किन ?
हाम्रो मस्तिष्कमा भएको सेरेबेलम भन्ने भागले हामीले गरेको गतिविधिमा ध्यान दिन्छ । त्यो भागले शरीरमा हुने स्वभाविक वा अस्वभाविक तरंगहरु थाहा पाउन वा छुट्याउन सक्छ ।
अर्थात्, तपाईं के गर्दै हुनुहुन्छ भन्ने सेरेबेलमले पहिल्यै थाहा पाउने भएकाले आफैले काउकुती लगाउँदा मस्तिष्कले कुनै प्रतिक्रिया जनाउँदैन ।
तर, केही प्रकृतिका गम्भीर किसिमका मानसिक रोग (जस्तै, स्किजोफ्रेनिया) का बिरामीले भने आफैँलाई काउकुती लगाउन सक्ने वैज्ञानिकहरुले बताएका छन् । यसको कारण के भने, उनीहरुको दिमागले आफैँले आफैँमाथि गरिएको गतिविधिबारे थाहा पाउन सक्दैन ।
मानिसलाई मात्र होइन, केही जनावरहरुलाई पनि काउकुती लाग्ने शोधकर्ताहरुले बताएका छन् । शार्कहरुलाई थुतुनोको ठीक मुनि काउकुती लगाउँदा तिनीहरुलाई हल्का काउकुती लाग्ने गर्छ । अझ चिम्पान्जी, गोरिल्लाहरुमा त निकै हाँसो लाग्ने गरी काउकुती लाग्ने गर्छ । एजेन्सी