संखुवासभा सामूहिक हत्याकाण्ड – थप एक पक्राउ


काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारको ६ जनाको हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीले सो घटनाका मुख्य आरोपी लोक बहादुर कार्कीका भाई नरेशलाई पक्राउ गरेको हो ।

नरेशमाथि सोधपुछ भइरहेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ’अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएका छौँ, अनुसन्धानबाट थप नयाँ तथ्य खुल्ने आश छ ।’ एक उच्च अधिकृतले भने ।

प्रहरीले नरेशको साथबाट हत्या गरिएकी ३२ वर्षीय रञ्जना कार्कीको मोबाइल समेत बरामद गरेको छ । नरेशले मोबाइल लुकाएको हुनसक्ने प्रहरीको आशंका छ ।

संखुवासभाको मादीमा २१ भदौमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

Post a Comment

Previous Post Next Post