गोरखाको भीमसेन थापा गाउँपालिका-२ तान्द्राङका केशव लामिछाने मनमा सानैदेखि एउटै सपना थियो, -‘बाचुन्जेल बा-आमालाई सुखसँग पाल्ने’ । पाँच छोरी जन्माएपछि केशवलाई बा-आमाले बुढेसकालमै जन्माए । २०५५ सालमा केशव जन्मिँदा उनकी आमा (छलिमायाँ) ४५ बर्ष र बा (अग्नीधर) ५५ बर्ष पुुगिसकेका थिए ।
सामान्य गरिब परिवारमा जन्मिएपनि रहरमा पाएको कान्छो सन्तान (छोरा) भएरै होला केशवलाई बा-आमाले सकुन्जेल कहिल्यै दुख कटाएनन् । क्षमताले भ्याउँदासम्म केशवको हरेक रहरहरु पूरा गर्दिन्थे । त्यसैले होला केशव सोच्थे, ‘म ठूलो भएपछि बा-आमालाई एक रति दुख गर्न लगाउन्न ।’
‘घरको एक्लो छोरा गरिब परिवारमै जन्मेपनि सुखसँगै हुर्के । बा-आमाले सकेको सुख दिनुभयो । त्यसैले पनि होला सानैदेखि ठूलो भएपछि जति दुख गर्नुपर्छ म गर्छु । तर, बा-आमालाई दु:ख गर्न दिन्नँ । उहाँहरुको सबै सपना, रहरहरु पूरा गर्छु भन्ने सोच आउँथ्यो’, केशव भक्कानिन्छन् ।
केशवले कक्षा १० सम्म गाउँकै सरकारी स्कुलमा पढे । जसोतसो कक्षा १२ सम्म पढ्न पाए राम्रै काम पाइन्छ भन्ने सोचे अनि गोरखा सदरमुकाममा रहेका जेठो भिनाजुको घरमा बसेर कक्षा ११ मा पढ्न थाले ।उनी सदरमुकाम पढ्न थालेपछि खर्च जुुटाउनै सकस हुन थाल्यो । घरको आयस्रोत अत्यन्तै न्यून भएपछि लामछिाने २०७५ सालको असार महिनामा रोजगारी खोज्दै भारतको पन्जाबमा पुगे ।
पन्जाब पुगेपछि उनी ग्रिल उद्योगमा काम गर्न थाले । मासिक करिब २२ हजार तलब बुझ्थे । त्यहाँ पुगेको दुई महिनासम्म उनले घरमा नियमित पैसा पठाए ।छोराले कमाई गरेर महिनैपिच्छे पैसा पठाउन थालेपछि बुढा बा-आमा खुसीले दंग थिए । उनीहरुलाई लाग्थ्यो, ‘अब हाम्रो दुखको दिन सकियो, सखका दिन आयो’ ।
तर, यो परिवारमा भर्खरै झुल्किएको खुसीका किरणहरु लामो समय टिक्न सकेन । पन्जाब पुगेको तीन महिना नबित्दै केशव दुर्घटनामा परे । ‘पैसा कमाएर बुढेसकाल लागेका बाबुआमाको सहारा बन्छु भनेर पढाई छाडेर भारत पुगेँ, अहिले आफैँलाई साहारा आबश्यक पर्ने भएको छ’, केशव दुखेसो सुनाउँछन् ।
बैशाखीको सहारा लिनुपर्ने भएपछि . . .
बुढेसकाल बा-आमाको सहारा बन्ने सोचेर पन्जाब पुगेका उनले दुर्घटनामा परेपछि एउटा खुट्टा गुमाए । अहिले उनैलाई बैसाकीको सहारा नभई हुन्न । उनको बुबाको पनि एउटा खुट्टा नशाको रोगका कारण चल्दैन, आमा पनि दमको रोगी । घरमा उनी, उनका बृद्ध बा-आमा मात्रै छन् ।
बा-आमाले कमाउन नसक्ने भएपछि कक्षा ११ मा पढ्दापढ्दै चटक्क छाडेर कमाउन गएका उनी नै दुर्घटनामा परेपछि उनको सम्पूर्ण परिवार नै सहाराविहीन बनेको छ । लामिछानेको बुबाले आँखाभरि आँसु बनाउँदै दुु:ख सुनाउँछन्, ‘कान्छो (केशव) भारत जानुभन्दा अघिल्लो सालसम्म म आफै त्यही भारतमा नै मजदुरी गरेँ, त्यसैले परिवार पालेँ । छोरोले बा- अब म ठूलो भएँ, तपाईहरु कति दुख गर्नुहुन्छ ? अब म कमाउँछु तँपाई घरमा बसीबसी खानु भन्यो । अनि जान छाडेँ ।’
उनी टक्क रोकिन्छन् अनि थप्छन्, ‘हामीलाई सुख दिन भनेर भारत गएको छोरो डुडो भएर फर्कियो । खै के भनौँ ।’ ‘बेसहारा परिवारको सहारा नै बृद्धभत्ता’ रोजगारीका लागि भारत पुगेका उनलाई कम्पनीले पनि कुनै सहयोग गरेन । दुर्घटनामा परेपछि दिदिहरु र आफन्तले क्रृण खोजेर पठाएको पैसाले उपचार गरी केशव घर फर्किए । उनी नेपाल आइपुग्दासम्म धन्नै ६ लाख रुपैँया खर्च भयो ।
त्यती बेलाको ऋण पनि अझै बाँकी छ ।‘घरमा तीनजना छौँ । तीनै जना रोगी भयौँ । कोही काम गर्न सक्दैनौँ । कमाई हुनेबाटै छैन । खै के गर्ने हो ?’ लामिछानेको बुबा समस्या देखाउँछन् । अहिले यो परिवारको आर्थिक अवस्था अत्यन्तै दयनिय छ । घरको आयस्रोत भनेकै अग्नीधरको बृद्धभत्ता हो । त्यो वाहेक कहिलेकाँही छोरी, ज्वाइँहरुले सक्दो सहयोग गर्छन् । केशवले अपांगता परिचयपत्र बनाउन वडामा निवेदन दिएको पनि वर्षदिन बितिसक्यो । तर, अहिलेसम्म बनेको छैन ।
अपांगता परिचयपत्र बनेमा त्यसबाट सामाजिक सुरक्षा भत्ता आए घरखर्चमा अलि सहज हुने उनको आश छ ।‘हाम्रो लागि भगवान कहीँ त होलान् नि ?’ भनिन्छ, जसको सहारा कोही हुँदैन उसको लागि भगवान हुन्छ । केशव सँग पनि भगवानसँगको आस्था अझै पनि छ । ‘भगवानले एकपटक सायदै झुक्किएर दु:ख दिनुभयो । ढिलोचाँडो कहीँ कतैबाट भगवानले हेर्नुहोला नि, हाम्रो लागि कहीँ त भगवान होलान् नि ?’
उनी भगवान प्रतिको आस्था देखाउँछन् ।बा-आमालाई खुसी दिने पहिलो प्रयासमा नै खुट्टा गुमाएपनि उनले हरेस भने खाईसकेका छैनन् । अब उनीसँग एउटै आश छ, ‘कहीँ कतैबाट सिपमुलक तालिम सिकेर, सहयोग जुटाएर कुनै ब्यवसाय गर्न सकुँ । अनि परिवारमा छाएको दुख र पिडाका कालो बादललाई फेरि हटाउन सकुँ ।’