एक वर्षसम्म अनिश्चयको अवधि पार गरेपछि अब धमाधम कोभिड भ्याक्सिनको समय सुरु भएको छ। मानिसहरु भ्याक्सिन लगाइसकेपछि अब केको डर भन्दै उत्सव मनाउने मुडमा पनि पुग्न सक्छन्। यस्तोमा केही मानिसले सिंगो बोतल नै रित्याएर शरीरले भर्खरै प्राप्त गरेको नयाँ प्रतिरोधी क्षमताको परीक्षण गर्न पनि खोजिदेलान्। तर, के मदिराले रोग प्रतिरोधात्मक क्षमताको प्रभावकारितामा केही असर गर्छ?
यसको छोटो उत्तर हो, तपाईँ कति मात्रामा पिउनु हुन्छ?
अहिलेसम्म एक वा दुइ पेगसम्म पिउँदा मदिराले मानिसको शरीरभित्र रोग प्रतिरोधी क्षमताको प्रभाव घटाएको कुनै उदाहरण फेला परेको छैन। बरु कतिपय अध्ययनले त लामो अवधिसम्म थोरै वा ठिक्कको मदिराले मानिसको शरीरभित्र तनावलाई अलिक कम गरिदिएर उल्टै रोगप्रतिरोधी क्षमतालाई सघाउ नै पु¥याउने देखाएको छ।
अर्कातर्फ लगातार लामो समयसम्म असाध्यै मात्तिने गरी पिउने मदिराले मानिसको रोग प्रतिरोधी क्षमतालाई निस्तेज पारिदिनसक्ने र त्यसले सम्भवत भ्याक्सिनले गर्ने कामलाई पनि प्रभावित पारिदिनसक्ने विज्ञहरुले बताएका छन्। मानिसले भ्याक्सिन लगाइसकेपछि पनि शरीरभित्र कोरोना भाइरसविरुद्ध एन्टीबडीको रक्षात्मक मात्रा पूर्ण रुपमा तयार पार्न केही सातै लाग्न सक्छ। यस्तो बेलामा शरीरभित्रको रोग प्रतिरोधीलाई व्यवधान गर्ने कुनै पनि कुराले पक्कै पनि असर पार्न सक्ने हुन्छ।
यदि तपाईँ भलाद्मी (मोडरेट) पाराले मदिरा पिउनु हुन्छ भने भ्याक्सिन लगाएको समय आसपास पिइदिँदा पनि खासै असर पर्दैन,’ युनिभर्सिटी अफ क्यालिफोर्नियाको इरभिनस्थित सेन्टर फर भाइरस रिसर्चका निर्देशक इल्हाम मेस्साउदी भन्छन्, ‘तर, त्यो भलाद्मी पाराले भन्ने कुरामा पनि धेरै ध्यान दिइनु पर्छ किनभने त्यो मात्रा बढ्ने बित्तिकै त्यसले पार्ने असर असाध्यै भयावह हुनसक्छ। मात्रा पार गर्नेबित्तिकै त्यसले अत्यन्तै तीब्र गतिमा शरीरको रोग प्रतिरोधीदेखि लिएर सम्पूर्ण शारिरिक प्रणालीलाई नै ध्वस्त पार्न सुरु गरिदिन सक्छ।’
भलाद्मी पाराले पिउनुको अर्थ हो पुरुषका हिसाबले सामान्यतयाः दिनको दुई मात्रा (एक मात्रामा पाँच औंस वाइन, डेढ औंस रक्सी वा १२ औंस बियर हुन्छ) पिउन सकिन्छ। त्यसैगरी महिलाहरुको हकमा बढीमा एक मात्रा। जुनसुकै परिस्थितिमा पनि पुरुषले चार अथवा त्यसभन्दा बढी मात्रा वा महिलाले तीन वा त्यसभन्दा बढी मात्रा पिउनुलाई अत्यधिक मानिन्छ।
गत डिसेम्बर महिनामा रुसी स्वास्थ्य अधिकारीहरुले भ्याक्सिन अभियान सुरु भएसँगै मदिराको विषयलाई लिएर दिएका प्रतिक्रियाहरुसँगै यस विषयमा सबैको ध्यान आकर्षित भएको थियो। रुसी अधिकारीहरुले भ्याक्सिन लगाउनुभन्दा दुई साता पहिलेदेखि नै मदिरापान बन्द गर्नुपर्ने आव्हान गरेका थिए। त्यसैगरि भ्याक्सिन लगाइसकेपछि अर्को ४२ दिन मदिराको परहेज गर्नुपर्ने उल्लेख गरेका थिए।
त्यतिबेला ती अधिकारीहरुको भनाइ उल्लेख गर्दै रोयटर्स समाचार संस्थाले मदिराले मानिसको शरीरले कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक शक्ति विकास गर्ने क्रममा नकारात्मक असर पार्ने जनाएको थियो। ती महिला अधिकारीको यो भनाइले रुसमा कडा प्रतिरोध जन्माएको थियो। रुस विश्वमै अत्यधिक मदिरापान गरिने मुलुकमध्येमा पर्छ।
यता अमेरिकामा पनि केही विज्ञहरुले भ्याक्सिन लगाउँदाको आसपास मदिरा पिउनु हुन्छ कि हुँदैन भन्ने मामलामा रुसमा जस्तै धारणा आफूहरुले पाएको उल्लेख गरेका थिए।
हाम्रा नियमित विरामीहरुबाट यो मामलामा धेरै प्रश्न र जिज्ञासा हामीले पनि झेल्दै आइरहेका छौं,’ युनिभर्सिटी अफ नेब्रास्का मेडिकल सेन्टरको कोभिड संक्रमित रोग हेर्ने टिमलाई निर्देशित गर्दैआएकी एसोसिएट प्रोफेसर डा. एन्जेला हेवलेट भन्छिन्, ‘भ्याक्सिन लगाएपछि त्यसको नियम के हो भन्ने बारेमा सबैजसो मानिसमा जिज्ञासा हुनु स्वाभाविकै पनि हो।’
कोरोनाको कहर अघि पनि जे जति अनुसन्धानहरु भएका थिए वा भ्याक्सिनहरु आएका थिए त्यसको आधारमा चाहिँ के गर्दा उचित हुन्छ वा हुँदैन भनेर औँंल्याउन थालिएको छ। यो सबका आधारमा एउटा कुरा चाहिँ पक्का छ, त्यो हो अत्यधिक बढी मात्रामा मदिराको सेवनले ब्याक्टेरिया वा भाइरसले हुने रोग प्रतिरोधात्मक शक्तिलाई क्षीण बनाइदिन्छ।
डा. हेवलेटका अनुसार अमेरिकाको औषधि नियामक निकाय (फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन)ले हालसम्म स्वीकृति जनाएका जे जति भ्याक्सिनहरु छन् तिनले मदिराको बारेमा खासै केन्द्रित भएर कुनै जानकारी सार्वजनिक गरेको छैन। मदिराले ती भ्याक्सिनको प्रभावकारितामा केही असर गर्छ कि गर्दैन भनेर कसैले पनि खुलाएको छैन। उनका अनुसार यस्ता तपसिलका विषयहरुमा भविष्यमा थप जानकारीहरु आउँदै जाने पनि हुनसक्छ।
तर, कोरोनाको कहर अघि पनि जे जति अनुसन्धानहरु भएका थिए वा भ्याक्सिनहरु आएका थिए त्यसको आधारमा चाहिँ के गर्दा उचित हुन्छ वा हुँदैन भनेर औँंल्याउन थालिएको छ। यो सबका आधारमा एउटा कुरा चाहिँ पक्का छ, त्यो हो अत्यधिक बढी मात्रामा मदिराको सेवनले ब्याक्टेरिया वा भाइरसले हुने रोग प्रतिरोधात्मक शक्तिलाई क्षीण बनाइदिन्छ। यसले प्रतिरोधी कोषलाई भाइरसले प्रभाव पारेको स्थानसम्म पुग्न र आफ्नो भूमिका निभाउन रोक्छ। अर्थात् भाइरस, ब्याक्टेरिया वा संक्रमित कोषलाई ध्वस्त पार्न सक्षम हुँदैन। संक्रमणलाई कोषहरु परास्त गर्दै लैजान झन सजिलो पारिदिन्छ। र, अन्य थप समस्याहरुलाई पनि उभ्याउँदै लैजान्छ।
यसको विपरित भलाद्मी पाराले पिइने मदिराले भने यस्ता असरहरु पार्दैनन्। एउटा अध्ययनको क्रममा वैज्ञानिकहरुले ३ सय ९१ जना भलाद्मी तवरले मदिरा पिउनेहरुमा स्वासप्रश्वासजन्य भाइरसहरुको संक्रमण गराएर परीक्षण गरेका थिए। त्यसमा चुरोट नपिउनेहरुका हकमा भने कसैलाई पनि चिसोले प्रभाव पारेको देखिएन।
त्यसैगरी एउटा अर्को अध्ययन चाहिँ बाँदरहरुमा गरिएको थियो। डा. मेसाउदी र उनको समूहले बाँदरहरुलाई सात महिनासम्म मनलाग्दी मदिरा पिउन दिएका थिए। त्यसपछि तिनीहरुको शरिरमा ‘पोक्स भाइरस’ विरुद्धको भ्याक्सिन लगाइदिएर त्यसले कस्तो प्रतिक्रिया जनाउँछ भनेर अवलोकन गरिएको थियो। त्यतिबेला जुन जुन बाँदरहरुले सात महिनासम्म अत्यधिक आनन्द लिएर धेरै नै मदिरा पिएका थिए उनीहरुको शरिरले भ्याक्सिन लगाएपछि पनि त्यसले अत्यन्तै कम मात्र प्रभाव पारेको देखाएको थियो।
अर्कातर्फ थोरै मात्र मदिरा पिउने बाँदरहरुका हकमा भने असाध्यै कडा किसिमले भ्याक्सिनले रोग प्रतिरोधी क्षमता बढाएको देखाएको थियो। यी थोरै मात्र मदिरा पिउने बाँदरहरुको रोग प्रतिरोधी क्षमता ठ्याम्मै मदिरा नपिउने अर्काथरि बाँदरभन्दा पनि बढी देखिएको थियो।
अत्यधिक मदिराले असर पार्ने अर्को पनि कारण छ। कोभिड भ्याक्सिनकै कारणले हुनसक्ने ज्वरो आउने, शरीर दुख्ने जस्ता समस्यालाई पनि अत्यधिक मात्राको मदिराको नशा उत्रिएपछिको अवस्थाले थप वृद्धि गरिदिन सक्छ।
यस्तो अवस्थामा कोभिड भ्याक्सिन लगाएपछि सकेसम्म पिउँदै नपिउनु उत्तम हुने युनिभर्सिटी अफ नेब्रास्काकी डा. हेवलेट बताउँछिन्। कहिलेकाँहि ‘नाइँ’ भन्न अप्ठेरै परेको अवस्थामा चाहिँ एक गिलाससम्म स्याम्पेन वा यसो लिएजस्तो गरेर मात्र पिइने थोरै मदिराले चाहिँ समस्यामा नपारिहाल्ने उनी स्पष्ट पार्छिन्। देशसंचार