भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला
प्रदेश नं १ मा गत वर्षभन्दा बढी रोपाइँ विराटनगर । प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । गएको वर्षमा यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो ।
चौध जिल्ला रहेको यस प्रदेशमा कूल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धानखेती लगाउने गरिएको छ । यसमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिनुभयो ।
निर्देशनालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी जिल्ला ताप्लेजुङमा आठ हजार ५६२ हेक्टर, सङ्खुवासभामा १३ हजार १५८ हेक्टर र सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर जग्गामा रोपाइँ भएको छ ।
त्यसैगरी मध्यपहाडी जिल्ला पाँचथरमा आठ हजार २८२ हेक्टर, इलाममा ११ हजार ८५२ हेक्टर, भोजपुरमा १६ हजार १०१ हेक्टर, तेह्रथुममा आठ हजार ९५४ हेक्टर, धनकुटामा छ हजार ३६० हेक्टर, उदयपुरमा १२ हजार ५७७ हेक्टर, ओखलुढुङ्गामा चार हजार १८२ हेक्टर र खोटाङमा १२ हजार ३८२ हेक्टर जग्गामा रोपाइँ भएको छ ।
तराईका तीन जिल्ला सुनसरीमा ५३ हजार ९०० हेक्टर, मोरङमा ८१ हजार ६३४ हेक्टर र झापामा ८३ हजार १२५ हेक्टर जग्गामा रोपाइँ सकिएको बताइएको छ ।
हेर्नुहोस् भिडियो सामग्री