मेरो घर गोरखाको ताप्ले गाविसको वडा नं ३ मा पर्छ । अहिले काठमाडौंको बानियाँटारमा बस्छु । मलाई रोजगारीका लागि विदेश जाने इच्छा थिएन । तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउन २००९ अगस्ट ९ मा दुबई गएँ।काठमाडौको मुनड्रप्स म्यानपावरमा एकाउन्टेन्टका लागि आफ्नो डकुमेन्ट छोडेको थिएँ ।
पढाईतिर ब्यस्त भएकाले मैले चासो पनि दिइन उताबाट पनि कुनै प्रतिक्रिया आएन ।एक वर्षपछि एक्कासी फोन आयो, दुबईको सेको कम्पनीबाट होटल वेट्रेसको डिमान्ड आएको रहेछ । जानका लागि कत्ति पनि खर्च नलाग्ने र खान बस्न पनि पाइने रहेछ । मैले वेट्रेसमा जान्न भनें । म्यानपावरका मोहित थापाले अफिसमा नै बोलाउनुभयो ।उहाँले मलाई सबै कुरा बताउनुभयो । त्यहाँको पुरै भिजुअल पनि देखाउनुभयो ।
त्यहाँ रक्सी खान नपाइने रहेछ, केटी मान्छेलाई सुरक्षित पनि रहेछ । मेरो आर्थिक अवस्था पनि निकै कमजोर भइसकेको थियो । यसो सोच्दा ठिकै जस्तो लाग्यो । मैले खर्च कति लाग्छ भनेर सोधें ।उहाँले पैसा लिँदैनौं भन्नुभयो । म त्यतिबेला बिबिएस तेस्रो वर्षको परीक्षा दिएर बसेकी थिएँ ।आर्थिक अवस्था कमजोर भएकाले मैले विदेश नै जाने निर्णय गरिसकेको थिएँ ।
बरु त्यहाँ गइसकेपछि कसरी सुरक्षित हुन सक्छु भन्ने मात्रै सोचें ।मेरो सुरक्षाका लागि म्यानपावर र काम दिने कम्पनीले के के गर्छ भन्ने पनि बुँझे । हामी ८ जना सँगै गएका थियौं । मैले कम्पनीलाई जम्मा १० हजार दिएको थिएँ । मसँगै जाने अरु साथीहरुसँग भने कम्पनीले ८०/९० हजारसम्म लिएको रहेछ ।
मैले धेरै कुरा बुझ्न खोजेको शैक्षिक योग्यता पनि राम्रो भएकाले मसँग पैसा नलिएको थाहा पाएँ ।त्यहाँ गइसकेपछि हाम्रो काम र तलबमा फरक भने परेन । ८ घण्टा काम र १२ सय दिराम तलब दिने भनिएको थियो । गएको तीन दिनमा मलाई सुपरभाइजरले बैंकेट हलमा लिएर जानुभयो ।त्यहाँ सर्भिस गर्ने क्रममा गेस्टहरु निस्किसक्नुभएको थियो, दुई/तीनजना मात्रै हुनुहुन्थ्यो ।
त्यो समय रमादानको थियो । दुबईको प्रेसिडेन्टले रमादानको शुभकामना दिएको दृश्यहरु टेलिभिजनमा देखाइएको थियो । मैले त्यतिबेला झलक्क आफ्नो देश सम्झिएँ । टिभी हेर्न पाउँदिन भन्ने मलाई थाहा थिएन । त्यतिबेला एक जना महिलाले मलाई हातले इसारा गर्नुभयो । तर मैले उहाँको इसारा बुझिन र बाहिर निस्किएँ । तर उहाँले सेक्युरिटी मेनेजर समक्ष मेरो बारेमा कम्प्लेन गर्नुभएछ ।