आज कहाँ–कहाँ छ बाढीको खतरा हेर्नुहोस्

बिहीबार बिहानको मापन अनुसार नारायणी, रुद्रबेनी जलमापन केन्द्र र तमोर मुलघाट जलमापन केन्द्रमा सतर्कता तह पारेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बहाव सामान्य रहेको तथा सुनकोशी, सप्तकोशी, कालीगण्डकी, सेती खोला, रिदी खोलामा बहाव बढ्दो क्रममा रहेकाले महाशाखाको भनाइ छ ।

आज कोशीका सहायक नदीहरू सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर तथा नारायणी र यसका सहायक नदीहरू विशेषगरी त्रिशूली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने महाशाखाको पूर्वानुमान छ । त्यस्तै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ लगायतमा बहाव उल्लेख्य बढ्ने र यिनका केही स–साना सहायक नदीहरूमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले असार २३ अपराह्नदेखि २५ सम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बुढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकी लगायतका नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता पार गर्ने बताएको छ। यसैगरी सप्तकोशी र यसका सहायक नदीहरू सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण तमोर लगायतका नदीहरूमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह आसपास पुग्ने तथा तिनाउ, कन्काई, कमला, बागमती र यिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

Post a Comment

Previous Post Next Post