छोरालाई ‘खाना खाँदै गर्नु हामी आउँछौँ’ भनेका पति–पत्नी घर पुग्न पाएनन्

झापाको सुरुङ्गास्थित होटल हेवेनका सञ्चालक पूर्णबहादुर विष्ट आफ्नी पत्नी भीमा विष्टसँग धनकुटाको भेडेटारबाट फर्किने क्रममा थिए ।

इटहरी आइपुग्दा बेलुका भइसकेपछि घरमा रहेका १४ वर्षीय छोरालाई फोन गरे खाना खाँदै गर्नु हामी यतै खाएर आउँछौँ भने ।

छोराले हुन्छ भनेपछि फोन काटे । इटहरीस्थित एक होटलमा खाना खाएर मोटरसाइकलमा घरतिर लागेका उनीहरू घर पुग्न पाएनन् ।

दमक नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा सिमेन्टले भरिएको मालबाहक ना ४ ख ८७३० नम्बरको ट्रकले पूर्ण र भीमा सवार प्रदेश २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई ठक्कर दियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते उनीहरूलाई उपचारको लागि दमकस्थित लाइफलाइन अस्पतालमा पुर्याइयो ।

तर त्यहाँ दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

‘सम्भवतः उहाँहरूको घटनास्थलमै मृत्यु भएको हुनुपर्छ’, इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले केटिएम दैनिकसँग भने, ‘घरमा छोरालाई खाना खाँदै गर्नु हामी यतै खान्छौँ भनेर हिँड्नु भएको रहेछ ।

तर उहाँहरू घर पुग्न पाउनु भएन ।’

गए राति १०ः१० बजेतिर भएको सो दुर्घटनापछि ट्रकका चालक ट्रकसहित फरार भएका थिए ।

फरार चालक मोरङ विराटनगर ४ बस्ने ४८ वर्षीय सुजन थापालाई अस्थायी प्रहरी पोष्ट ताराबारीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान गर्दा तीव्र गतिका कारण दुर्घटना भएको डिएसपी कार्कीले जनाए ।

‘बाहिर मापसे गरेर ट्रक कुदाउँदा दुर्घटना भएको हल्ला छ’, उनले भने, ‘तर मेडिकल रिपोर्टले त्यो देखाएको छैन ।

तीव्र गतिकै कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

Post a Comment

Previous Post Next Post