किन राखिन्छ मोबाइलको मूल्य पछाडि ९९ वा ९९९ ?

काठमाडाैं । के तपाईंले बजारमा मोबाइल किन्न जाँदा त्यसको मूल्यको अन्तिममा ९९९ अथवा ९९ रुपैयाँमा टुंगिएको याद गर्नुभएको छ ? जस्ताे मोबाइलका मूल्यहरू १७ हजार ९९९ रुपैयाँ, २७ हजार ४९९, १९ हजार ५९९ रुपैयाँ गरेर मूल्य निर्धारण गरिएको हुन्छ । तर के तपाईंलाई थाहा छ मोबाइल कम्पनीहरूले किन मूल्यको पछाडि यसरी मूल्य निर्धारण गर्ने गर्छन ?

वास्तवमा यो एउटा बजार रणनीति हो, जसले मानिसकाे थोरै भए पनि कम मूल्य तिर्न परोस् भन्ने स्वभावलाई सम्बोधन गर्छ । स्वभावैले मान्छेहरू अलि कम पैसामा सामान खरिद गर्न चाहन्छन् । बजार व्यवस्थापनमा आउने अर्को महत्त्वपूर्ण कुरा भनेको “लेफ्ट डिजिट इफेक्ट” देब्रेको अंकको प्रभाव हो । अर्थात मान्छेहरू आधिकांश देब्रेबाट पढ्न सुरु गर्छन् । यसको अर्थ पछाडिको अङ्कभन्दा सुरुको अङ्कमा बढी ध्यान दिन्छन् ।

उदाहरणका लागि मान्छेहरूको आँखा १४,००० रुपैयाँभन्दा पहिले १३,९९९ रुपैयाँमा जान्छ । ठिक्क १४००० रुपैयाँ राखेको मूल्य र राखेको एक रुपैयाँमात्र घटाउँदा पनि अगाडिको अङ्कमा आउने परिवर्तनले मान्छेहरूलाई सो सामान सस्तो रहेछ भन्ने मनोवैज्ञानिक प्रभाव पार्छ । यही कारणले गर्दा कम्पनीहरूले सामानहरूको मूल्यमा अन्तर देखाउन सो उपाय अपनाउँछन् ।

‘वस्तुको मूल्य कम देखाउनको लागि यो एउटा बजार नीति हो । एक रुपैयाँ नै कम भए पनि ग्राहकका लागि त्यो सस्तो हुन्छ, जसले गर्दा ग्राहकलाई सो वस्तु किन्न आकर्षित गर्छ,’ भिभो मोबाइलका लोकल ब्रान्ड म्यानेजर पियुस गिरी भन्छन् ।

मूल्यको पछाडि ९९, ९९९, ९० रुपैयाँ राखी मोबाइलको मूल्य निर्धारण गर्दा बजारीकरण गर्न सजिलाे हुने उनकाे धारणा छ ।

Post a Comment

Previous Post Next Post