यस्ता छन कपाल झर्ने कारण, रोकथामका लागि यी उपाय अपनाउनुहोस

राम्रो र बलियो कपाल होस् भन्ने इच्छा हामी सबैमा हुन्छ । तर, कपाल झर्ने समस्या अहिले सामान्य भइसकेको छ । कपाल झर्नमा विभिन्न कारण हुनसक्छन् । आनुवंशिक कारण वा मौसम परिवर्तन हुँदा पनि कपाल झर्छ ।

आधुनिक अस्वस्थ जीवनशैलीका कारण पनि कपाल झर्छ । तपाईंमा पनि यस्तो समस्या छ भने कारण पत्ता लगाएर समयमै यसलाई समाधान गर्नतिर लाग्नुस् । कपाल झार्न योगदान गर्ने कुरा यी हुन् ।

कपालसम्बन्धी औजार

तपाईं दिनदिनै कपाललाई स्ट्रेट गर्न वा कर्ली गर्नका लागि स्ट्रेटनर र कर्लर जस्ता औजार प्रयोग गर्नुहुन्छ वा दिनदिनै चिसो कपाल सुकाउन ड्रायर प्रयोग गर्नुहुन्छ भने तिनले तपाईंको कपाललाई जरैदेखि कमजोर बनाउँछन् । त्यसपछि कपाल टुक्रिने, झर्ने र मृतजस्तो हुने समस्या आउँछ ।

फंगल इन्फेक्सन र चायाँ

कपालमा फंगल इन्फेक्सन हुँदा त्यो जरैबाट कमजोर भएर टुक्रिन थाल्छ । अनि तालु सुक्खा हुँदा चायाँ पनि पर्छ जसले गर्दा कपाल कमजोर भएर टुक्रिन थाल्छ । कपालको सफाइ र पोषणमा ध्यान दिनुभए मात्र यस्ता स्थितिबाट बच्न सक्नुहुन्छ ।

रसायन

दिनदिनै नयाँ हेयरस्टाइल बनाउने र कपाल रंगाउने गर्दा तिनमा भएका रसायनले कपाललाई कमजोर बनाउँछन् र पोषण सिध्याइदिन्छन् । अनि कपाल झर्न थाल्छ । यस्ता उत्पादनको प्रयोगले कपाल सेतो पनि हुन थाल्छ ।

तनाव

कपाल झर्नुका पछाडि तनाव पनि एक कारण हो । लामो समयसम्म तनाव हुँदा शारीरिक र मानसिक स्वास्थ्य बिग्रन थाल्छ अनि कपाल कमजोर भएर टुक्रिन थाल्छ ।

औषधि

केही विशेष औषधिहरू सेवन गर्दा पनि कपाल कमजोर हुन थाल्छ । रगत पातलो बनाउने औषधि, भिटामिन ए सप्लिमेन्टहरू, बाथरोगको अनि निद्राको औषधि सेवन गर्दा पनि कपाल झर्न थाल्छ ।

गर्भधारण र रजोनिवृत्ति

​गर्भवती अवस्थाका महिलामा एस्ट्रोजन हर्मोनको सन्तुलन बिग्रन्छ र कपाल तीव्र गतिका साथ झर्छ । त्यसबाहेक रजोनिवृत्तिका समयमा एस्ट्रोजनको मात्रा घटेर पनि कपाल झर्न थाल्छ ।

एनेस्थेसिया र सर्जरी

एनेस्थेसिया र सर्जरी गरेपछि पनि कपाल झर्छ । यिनीहरूको शरीरमा प्रभाव तथा रिकभरीमा ढिलाइले पनि कपाल झर्छ ।

आनुवंशिक कारण

बाआमाको कपाल झर्ने समस्या छ भने सन्तानको पनि कपाल झर्छ । यसबाट बच्नका लागि केही विशेष काम गर्न सकिन्न तर खानपान र जीवनशैलीलाई राम्रो बनाएर समस्या घटाउन सकिन्छ ।

थाइरोइड

​कपाल असाध्यै कमजोर भएर झर्नुमाथाइरोइड पनि एक कारण हुन सक्छ । थाइरोइडको उपचार गराएपछि कपाल झर्ने समस्या पनि समाधान हुन्छ ।
यसबाहेक टाइफाइड र भाइरल संक्रमणले पनि कपाल कमजोर बनाउँछ र ती झर्न थाल्छन् ।

Post a Comment

Previous Post Next Post