नर्भिकमा उपचाररत कलाकार निशा घिमिरेको दाँतले गाला टोकेपछि…

काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत कलाकार तथा मोडल निशा घिमिरेको दाँतले आफ्नै गाला टोकेकी छिन् । आफ्नै दाँतको टोकाइबाट गालाको भित्री भागमा गहिरो चोट लागेपछि उनलाई भेन्टिलेटरमै राख्नुपरेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार कलाकार घिमिरेले केही दिनअघि आफ्नै दाँतले गाला टोकेपछि अत्यधिक रक्तश्राव भएको थियो । रक्तश्रावका कारण श्वास फेर्न कठिनाई भएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको हो ।

आफ्नै दाँतले टोकिएको गालाको भित्री भागमा टाँका नै लगाएर उपचार गरेसँगै उनको अवस्थामा सुधार भएको अस्पतालको भनाइ छ । तर, असार २१ गते भेन्टिलेटरमा राखिएकी उनलाई असार २३ गतेदेखि नै पुनः भेन्टिलेटरबाट निकालिएको अस्पतालले जनाएको छ ।

‘हाल उनी आफैंले श्वास फेरिरहेकी छिन् र गालाको भित्री भागमा टोकिएर बनेको घाउ समेत निको हुने क्रममा रहेको छ,’ बिहीबार अस्पतालले जानकारी दियो ।

बाँकी स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको पनि अस्पतालले चिकित्सकहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ । हाल उनलाई सीसीयू वार्डमा राखेर उपचार जारी राखिएको छ । नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापीलगायत विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ ।

डा. पङ्कज जलान नेतृत्वको टीमले उनको उपचार गरिरहेको छ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युश्ययामा छटपटाइरहेकी घिमिरेको गत जेठ २७ गते अस्पतालकी प्रबन्धनिर्देशक मेघा चौधरीले उद्धार गरेकी थिईन् ।

‘अस्पतालमा आउँदा जिउँदो लाशजस्तो रहेकी उनको अवस्था निकै सुधार भएको छ । उनले पछिल्लो समय बोल्ने समेत कोशिश गरिरहेकी छिन्,’ अस्पतालले भनेको छ । डा. जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् । उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताए ।

जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रूपमा नर्मल हुने सम्भावना भने न्यून छ । ‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ,’ डा. जलानले भने, ‘तर, आएको बेलाको तुलनामा घाउहरू निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिजहरू प्रशस्त दिइरहेका छौं ।’]

तीन वर्षअघिसम्म मिडियाहरूमा छाउने गरेकी मोडल निशा घिमिरेको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् । नर्भिकले उद्धार गरेपछि उनलाई सहयोग गर्नेहरूको समेत लर्को लागेको छ । उनको परिवारजनले बनाएको अक्षयकोषमा लाखौं रूपैयाँ जम्मा भइसकेको छ ।

तीन वर्षअघि अभिनयको कोर्ष पढ्न उनी भारत गएकी थिइन् । त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरूकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरूमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो ।

नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् । यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरू समेत प्रकाशन भएका थिए । तर, उनलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् । साभार श्राेत : दैनिक नेपाल

Post a Comment

Previous Post Next Post