४९ लाखमा कार किनेपछि प्रकाश भन्छन्–‘कलाकार भएर पनि कार चढ्न सकिन्छ हैं’

नेपाली सांगीतिक क्षेत्र फराकिलो बनिरहेको छ । कुनै समय गीत संगीतमा लागेर सर्जकले जीवन चलाउन नै मुश्किल पर्छ भन्ने कुराहरु खुबै सुनिन्थ्यो । तर, आज समय बदलिएको छ । गीत संगीतमा मिहिनेत गर्न सक्ने हो भने सर्जकले जीवनलाई सहज रुपमा जिउन सक्ने अवस्था बनेको छ ।

पछिल्लो समयमा गीत संगीतमा राम्रो क्रेज बनाएका कलाकारहरुको फेरिदो जीवनशैलीले पनि यो कुराको पुष्टी गर्दछ । यो क्षेत्रमा नाम चलेका र दर्शकले रुचाएका सर्जकहरुका लागि काठमाडौंमा घर र गाडी अब सपना बन्न छाडेको छ ।
नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक प्रकाश सपूतले २ बर्ष अगाडि काठमाडौंमा घर किने । आधा दर्जन भन्दा बढी गीतले लोकप्रियता कमाएपछि प्रकाशलाई स्टेज कार्यक्रमदेखि म्यूजिक भिडियोमा भ्याई नभ्याई छ ।

उनै, प्रकाशले लक्ष्मी हुन्डाइको नयाँ कार किनेका छन् । सेतो रंगको ‘क्रेटा’ कार किनेका प्रकाशले लेखेका छन्–‘सपना देख्नेहरुलाई प्रेरणा हुनसक्छ । कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है ।’ उनले यो कारको मूल्य ४९ लाख रहेको अनलाइनखबरसँग बताए ।

उनी आफूले सकेसम्म देखावटी कुराहरु नचाहने तर यस्ता कुराहरुले कतिपय मानिसहरुलाई प्रेरणा पनि मिल्ने बताउँछन् । ‘यस्ता कुराहरुले कतिपय मानिसहरुलाई दुःखी पनि तुल्याउन सक्छ ।

तर त्यही कुराले कतिपय मानिसहरुलाई प्रेरणा पनि मिल्न सक्छ’ उनले अनलाइनखबरसँग भने, ‘त्यो मान्छे पनि हामीजस्तै हो । हाम्रै स्तर, हाम्रै धरातलबाट गएको हो । त्यसले गर्न सक्छ भने हामी पनि गर्न सक्छौं भन्ने खालको प्रेरणा पनि मिल्न सक्छ । यसकारण मैले कार किनेको तस्वीर सामाजिक संजालमा शेयर गरेको हुँ ।’

प्रकाश काठमाडौं आएसँगै लामो समय सार्वजनिक यातायातमा यात्रा गरे । दोहोरी साँझमा काम गरेको २–३ वर्षपछि ‘सेकेन्ड ह्याण्ड’ स्कुटर किने । केही वर्ष स्कुटर चढेपछि उनले ‘सेकेन्ड ह्याण्ड’ मोटरसाईकल किनेका थिए । यसअघि उनी सोही मोटरसाईकलमा यात्रा गर्दै आएका थिए ।

उनी मानिसहरुले आफूलाई मूल्यांकन गर्दा, आफ्नो सफलतालाई मूल्यांकन गर्दा संघर्षलाई पनि सँगै मूल्यांकन गरिदिए हुन्थ्यो भन्ने चाहन्छन् ।

प्रकाश लोकदोहोरीमा चलेका कलाकार हुन् । ‘दोहोरी ब्याटल’, ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’ हुँदै ‘मेरो पनि होइन र यो देश ?’ सम्म आईपुग्दा सांगीतिक क्षेत्रमा उनले आफ्नो गर्बिलो चिनारी बनाईसकेका छन् । उनी ‘परदेशी २’ चलचित्रमार्फत अभिनेताका रुपमा दर्शकमाझ आउँदैछन् ।

Post a Comment

Previous Post Next Post