अब यो ठाउँमा महिलाले एकैसाथ एकभन्दा बढी श्रीमान् राख्न पाउने यस्तो प्रस्ताव आयो

संसारका धेरै मुलुकले बहुविवाहलाई गैरकानुनी मानेका छन्। दक्षिण अफ्रिका यस्तो देश हो जहाँ पुरुषले चाहेजति श्रीमती राख्न पाउने कानुनी छुट छ। पुरुषका लागि भएको त्यो व्यवस्था अब महिलाहरूका हकमा पनि लागू गर्ने प्रस्ताव गरिएको छ।

सिएनएनका अनुसार दक्षिण अफ्रिकाको गृह मन्त्रालयले तयार पारेको ग्रिन पेपरमा विवाह संस्थालाई बढी समावेशी बनाउन महिलाहरूलाई पनि एकभन्दा बढी श्रीमान् राख्न पाउने प्रस्ताव गरिएको छ।

गृह मन्त्रालयको उक्त प्रस्तावमा दक्षिण अफ्रिकाका अनुदारवादीहरूले गम्भीर आपत्ति जनाएका छन्।

उक्त प्रस्तावको विरोध गर्नेमा एक जना चर्चित अनुहार रियालिटी टिभी सो स्टार मुसा एमसेलुकु हुन्। मुसाका अहिले चार जना श्रीमती छन्।
महिलाहरूले एकैपटक धेरै श्रीमान् राख्दा उनीहरूका बच्चालाई परिचयको समस्या हुने मुसाको तर्क छ।

‘ती बच्चाहरू कुन परिवारका हुन्छन्,’ उनको प्रश्न छ। महिलाहरूलाई एकभन्दा बढी श्रीमान राख्न दिनु अफ्रिकी संस्कृतिविरूद्ध हुने उनको भनाइ छ।

अफ्रिकन क्रिश्चियन डेमोक्रेटिक पार्टीका नेता रेभेरेन्ड केनेथ मेसहोले पनि उक्त प्रस्तावको विरोध गरेका छन्।

पुरूषहरूले एकै पटक धेरै श्रीमती राख्न सक्ने भए पनि महिलाहरूका हकमा त्यो लागू नहुने उनको तर्क छ।

‘पुरुषहरू इर्ष्यालु र स्वामित्व लिन खोज्ने खालका हुन्छन्। त्यसैले एक पटकमा एक महिलाले धेरै श्रीमान् राख्न सम्भव छैन,’ उनले भनेका छन्।
अधिकारकर्मीहरूले भने जे व्यवस्था पुरुषका लागि छ त्यही व्यवस्था महिलाका लागि पनि हुनु समानताको विषय भएको बताएका छन्।

गृह मन्त्रालयको प्रस्तावमा जसरी पुरुषहरूको बहुविवाहबारे फरक-फरक धारणा छन् त्यसरी नै महिलाले एकै पटक धेरै श्रीमान् राख्नेबारे फरक मत भएको बताइएको छ।

मन्त्रालयले जुन ३० सम्म उक्त प्रस्तावबारे विभिन्न क्षेत्रबाट सुझाव संकलन गरिने जनाएको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post