७० वर्षीया वृद्धा आमा, त्रिपालले ढाकेको छानामुनि अशक्त छोरी र साना नातिनीहरु च्यापेर यसरि कटाउँछिन् रात

बर्खे झरी मझेरीमा चुहिएपछि चार दिनअघि मात्र जस्ताको छाना त्रिपालले ढाकिएको छ । गोरखा नगरपालिका–१० छेवेटारकी ७० वर्षीया वृद्धा डिलमाया दाहाल कुमाल यही त्रिपालले ढाकेको छानामुनि अशक्त छोरी, ९ र ११ वर्षका नातिनी च्यापेर रात कटाउँछिन् ।

डिलमायालाई बर्खे झरिसँगै कोभिड त्रासका बीच बिहान बेलुकीको छाक टार्ने पिरलो छ । घरको दयनीय अवस्थाले उनी बेलाबेलामा भक्कानिन्छिन् । ‘पकाउने खाने एकै ठाउँमा हो,’ उनले भनिन्, ‘निमेक गरेर गुजारा चलेको छ ।’ मेलापातको अलावा सामाजिक सुरक्षा भत्ताबाट आएको पैसाले चार जनाको जीवन धानिएको उनले बताइन् । उनकी एक्ली छोरी ४० वर्षीया रेखा कुमाल राम्रोसँग हिँडडुल गर्न सक्दिनन् ।

आर्थिक अभावले अस्पताल पुग्न नसक्दा छोरीका हात र खुट्टामा देखिएको समस्यासमेत पहिचान हुन सकेको छैन । मेलापात गरेर चार जना परिवारको छाक टार्ने जिम्मा उनै ७० वर्षीया डिलमायाको काँधमा छ । भन्छिन्, ‘छोरी हिँड्न सक्ने, काम गर्न सक्ने भए त हाइसन्चो हुन्थ्यो ।’ बर्खाको बेला मेलापात पुग्दा पनि डिलमायालाई घरकै यादले सताउँछ । ‘पानी पर्‍यो कि, पानी चुहियो कि, के खाए, मन ध्यान सबै घरमा हुन्छ,’ उनले भनिन् ।

डिलमायाका चार परिवार गोरखा नगरपालिका–१० को टोल विकास संस्थाको भवनमा बस्छन् । आफ्नो घर नहुँदा बसाइ कष्टकर बनेको उनले गुनासो पोखिन् । ‘एउटा घर मात्र भए आरामले सास फेर्न पाइन्थ्यो, बस्ने छाना बलियो भए आनन्द हुँदो रहेछ,’ उनले भनिन्, ‘अहिले त शौचालय पनि छिमेकीको घरमा जानुपरेको छ ।’ अहिले बस्दै आएको ठाउँमा सकस रहेको उनले बताइन् ।

Post a Comment

Previous Post Next Post