हुन पनि कान्छो सन्तानलाई काखको सन्तान भनिन्छ । कान्छो सन्तानका पनि सन्तान भए पनि आमाहरु कान्छो सन्तानलाई सानै देख्छन् । यस्तो किन हुन्छ ? यसको जवाफ सजिलो छ । किनभने आमाबाबुले आफ्नो कान्छो सन्तानलाई सबै भन्दा पछि सम्म स्याहारिरहेका हुन्छन् जसले गर्दा उनीहरुलाई अन्य सन्तान भन्दा यो सानो भन्ने ठान्दा ठान्दै वास्तवमै सानो देख्न थाल्छन् ।
सानो देखे पछि प्यारो हुने त भइहाल्यो । यसबारे थप कुरा पनि छन् । हामीले यो लेखमा ति कुराहरु समेट्ने प्रयास गरेका छौँ । तपाईले आफ्नो कमेन्ट लेख्न सक्नु हुनेछ ।
कुनै लेखकलाई ‘तपाईले रचना गरेको सृजनामध्ये कुन उत्कृष्ट वा प्यारो लाग्छ ?’ भनेर सोधियो भने घुमाउरो जवाफ आउँछ, ‘आमाबुवालाई आफ्ना हरेक सन्तान उत्तिकै प्रिय लाग्छ ।’ अर्थात आमाबुवाको माया हरेक छोराछोरीमा बराबरी हुन्छ ।
तर, अध्ययनले त्यसो भन्दैन । अमेरिकामा हालै भएको एउटा सर्भेक्षणले यो मान्यतालाई गलत सावित गरेको छ । सर्भेक्षणका अनुसार आमाबाबुले सबै बच्चालाई उत्तिकै माया गर्दैनन् । अमेरिकाको ब्रिङयंग यूनिभर्सिटीको स्कुल अफ फेमिली लाइफले गरेको अध्ययनले यो तथ्य पत्ता लगाएको हो । आफ्नो सबैभन्दा कान्छो सन्तानमा आमाबाबुको सबैभन्दा बढि माया बसेको हुने सर्भेक्षणको ठहर छ ।
जेठो सन्तान खास : यद्यपि, कान्छो सन्तानलाई बढि माया गर्नुको यो अर्थ होइन कि अरु सन्तानलाई माया नै गर्दैनन् । यथार्थमा उनीहरुका लागि आफ्नो जेठो सन्तान खास हुन्छन् । आखिर उनीहरुको जिन्दगीमा पहिलो खुशी ल्याउने उही नै हो ।
अनि हरेक अभिभावकलाई आफ्ना सन्तानप्रति के कस्तो व्यवहार गर्नु पर्छ वा आफु सन्तानको अभिभावक हुँदा कस्तो अनुभव हुन्छ भन्ने कुरा महसुस गराउने नै जेठो सन्तान हुन्छ । अन्य सन्तानहरु भइसक्दा त्यो अनुभव दोहोरिने अथवा अलिक फरक पर्ने हुन सक्ला तर जेठोले जस्तो सुरुवाती अनुभव गराउन सक्दैन । यसैले जेठो सन्तान हरेक अभिभावक वा बाउआमाका लागि खास नै हुन पुग्छ ।
कान्छो किन प्यारो ? : तर, जब पहिलो सन्तानको भाई वा बहिनी जन्मिन्छन्, आमाबाबाुको माया बाँडिन्छ । यो स्वभाविक हो कि आमाबाबुको ध्यान कान्छो सन्तानको हेरचाह र आवश्यकताहरुमा केन्दि्रत हुन पुग्छ ।
यस्तोमा ठूला बच्चाहरुले आफ्ना आमाबाबुबाट कम माया पाएको महसुस गर्छन् । यही भावनाले दाजुभाई र दिदी बहिनीबीच वैमनष्यताको बिऊ रोपिन्छ । यस अध्ययनका लागि बि्रगम यंग यूनिभर्सिटीको टिमले टिनएज बच्चा भएका ३ सय परिवारसँग प्रश्नोत्तर गरेको थियो । अध्ययनले देखायो कि आमाबुवाको माया पाउन ठूला बच्चाभन्दा साना बच्चाहरु बढि लालायित हुन्छन् ।
यदि घरका साना बच्चाहरुले आफु आमाबाबुको फेभरेट भएको महसुस गरे भने यस अवस्थामा आमाबाबु र बच्चाको सम्वन्ध मजबुत हुन्छ । यस्तो भएन भने प्रभाव उल्टो हुन्छ । उनीहरु आफुलाई हेलामा परेको महसुस गर्न थाल्छन् ।
कुनै पनि बच्चालाई आफु महत्वपुर्ण छु कि महत्वपुर्ण छैन भन्ने विचार यदाकदा आइरहन्छ । यस्तोमा परिवारले नै आफुलाई महत्व दिदैन भन्ने उसमा रहन गयो भने यसले उसको आत्मसम्मानमा वा आत्मविश्वासमा चोट पर्न पुग्छ जसले गर्दा बालबालिकाको विकाशमा नै असर पुग्छ ।
यसैले कहिलै पनि केटाकेटीका सामु तँलाई भेट्टाएर ल्याएको भन्ने गर्नु हुदैन । समाजमा रमाइलोको लागि केटाकेटीलाई तँ त अर्कैको छोराछोरी हो र तँलाई बारीका पाटामा वा दोबाटामा भेटेको भनेर रुवाउने चलन हुन्छ । यस्तो कुराले केटाकेटीलाई मानसिकरुपमा नै आघात पुर्याउँछ ।
अर्कोतर्फ ठूला बच्चाहरुका लागि उनी बाबुआमाका सबैभन्दा प्रिय हुन् कि होइनन् भन्ने कुराले खासै महत्व राख्दैन । उनीहरुले आमाबाबुको फेभरेट नभएको महसुस गरे तापनि सम्वन्ध सामान्य नै रहन्छ ।
उनीहरुलाई थाहा भइसकेको हुन्छ कि फेभरेट हुनु फरक कुरा हो र जीवनमा नाताको फरक अर्थ हुन्छ । यदि बाबुआमाको फेभरेट भएन भने पनि मानिसहरुका लागि सम्बन्धको भने छुट्टै महत्व हुन्छ । यहि सम्बन्धको महत्वले नै मानिस मानिस वा भनौँ, परिवार भित्र आत्मियता कायम रहन्छ ।